मकवानपुर । यातायात व्यवसायीहरुको छाता सङ्गठन नारायणी यातायात व्यवसायी संघको आगामी कार्यकालका लागि निर्वाचन शुरु भएको छ । हिजो हेटौंडामा ३७ औं बार्षिक साधारण सभा तथा १६ औं अधिबेशनपछि कार्यसमितिमा रहने कूल ३१ पदमध्ये १० पदमा निर्वाचन भएको हो । आज हुने निर्वाचनमा संघको काठमाडौं शाखा उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, चितवन शाखासहित ७ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।
अधिबेशनले हिजो अध्यक्षमा सरोजकुमार खनालसहित १६ जना निर्विरोध निर्वाचित गरेको छ भने ५ जना मनोनित हुने छन् । संघको २०३६ सालमा गठन भएको तदर्थसमिति पछि अध्यक्ष पदमा निर्विरोध भएको यो पहिलो पटक हो ।
निर्वाचन आज साँझ ५ बजेसम्म हुने निर्वाचन अधिकृत तथा संघका कानूनी सल्लाहकार इश्वरराज ढकालले बताएका छन् । संघमा आवद्ध सदस्यहरुमा कम्पनी सदस्यसमेत ४ हजार ४ सय ७६ जना मतदाता रहेका छन् ।




