वार्ताका लागि धनगढीमा पुगेका सरकारका प्रतिनिधि र सत्याग्रहरत प्रा.डा. गोविन्द केसीबीच भेट भएको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा पुगेर डा. केसीलाई भेटेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले केही समयपछि दुवै पक्षबीच औपचारिक वार्ता हुने जानकारी दिए । ‘सकभर अस्पतालमै र त्यहाँ सम्भव नभए प्रदेशको सामाजिक विकास मन्त्रालयमा वार्ता गर्ने तयारी छ,’ रेग्मीले भने । वार्ताकै लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल पनि धनगढीमै छन् । केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएको नियुक्ति बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौति गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनबमोजिम चिकित्सा शिक्षालाई पूर्णगैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुपर्ने, विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका थिए ।

यस्तै, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग निर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गर्नुपर्ने तथा भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने र २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग डा. केसीको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्