नेपालमा मात्र नभई विश्वका अधिकांश मुलुकहरूमा खानपानको शैली तीव्र रूपमा परिवर्तन भइरहेको छ । बढ्दो सहरीकरण, व्यस्त जीवनशैली, आयमा आएको परिवर्तन, डिजिटल बजारको प्रभाव, प्रशोधित खाद्य वस्तुको सहज उपलब्धता तथा आक्रामक विज्ञापनका कारण परम्परागत तथा पोषणयुक्त खाद्य व्यवहारमा परिवर्तन भई प्रशोधित र अति–प्रशोधित खाद्य पदार्थहरूको उपभोग बढ्दै गएको छ । अस्वस्थ खानपानका कारण मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सरलगायत नसर्ने राेगहरू बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी मृत्युको करिब ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । यीमध्ये करिब ८० प्रतिशतभन्दा बढी मृत्यु निम्न तथा मध्यम आय भएका देशहरूमा हुने गरेको देखिन्छ ।
नेपालमा पनि नसर्ने रोगहरूको भार तीव्र रूपमा बढ्दो क्रममा छ । विभिन्न तथ्यांकअनुसार कुल मृत्युको करिब ६०–६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । एसटीईपीएस सर्वेक्षण तथा डब्लूएचओकाे तथ्यांकअनुसार नेपालमा नसर्ने रोगका कारण हुने मृत्युले कुल मृत्युको लगभग दुईतिहाइ हिस्सा ओगटेको छ । कुनै पनि व्यक्तिले कस्तो खाना खाने, कुन खाना खाने भन्ने कुरा उसको ज्ञान वा इच्छाशक्ति मात्रले निर्धारण गर्दैन । उसले बस्ने घर, पढ्ने विद्यालय, काम गर्ने कार्यालय, किनमेल गर्ने बजारलगायत वरपरको खाद्य वातावरण, खाद्य पदार्थको मूल्य, उपलब्धता, विज्ञापन तथा सरकारी नीतिहरूले पनि समान रूपमा प्रभाव पार्छन् । त्यसैले स्वस्थ खानपान व्यवहार एवम् स्वस्थ समाज निर्माणका लागि व्यक्ति मात्र होइन, उसको वरिपरि पनि स्वस्थ खाद्य वातावरणको निर्माण हुनु जरुरी रहन्छ ।




