काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् । सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ । काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदै छ ।
४ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो ।करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सुरुङमार्गले नागढुंगाको ट्राफिक जाम कम गर्दै काठमाडौं उपत्यकामा आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ । मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको छुट्टै आपतकालीन (रेस्क्यु) सुरुङ पनि निर्माण गरिएको छ ।
उद्घाटनपछि पहिलो दिन आपतकालीन प्रयोजनका सवारी साधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ । पैदलयात्री, दुई पांग्रे सवारी तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन ।




