साउन,३-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले वनजंगलको रेखदेख नगरे नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले क्यानडाले आफ्नो वनजंगलको हेरचाहमा लापरबाही गरेको आरोप लगाउँदै यस्तो धम्की दिएका हुन् । वनजंगलको लापरबाहीका कारण अमेरिकाले प्रदूषित हावाको सामना गर्नु परेको दाबी ट्रम्पले गरेका छन् । क्यानडाको यो लापरवाहीको जवाफमा नयाँ शुल्क अर्थात् ट्यारिफ लगाउन सकिने चेतावनी उनले दिए । ‘हामी क्यानडालाई यसका लागि जिम्मेवार मान्छौं कि उसले आफ्नो वनजंगलको सही तरिकाले हेरचाह गरिरहेको छैन,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यसको कारणले अमेरिकामा फोहोर, प्रदूषित र हानिकारक हावा आइरहेको छ । यो हावाको क्वालिटी खतरनाक छ र बिल्कुल स्वीकार गर्न सकिँदैन ।’

उनले यस विषयमा छिट्टै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग कुरा गर्ने र जवाफ माग्ने बताए । ‘यो जानाजानी गरिएको लापरवाही हो र अब यो हरेक वर्ष हुने कुरा बन्दै गइरहेको छ । यसबाट अमेरिकालाई अर्बौं डलरको नोक्सान भइरहेको छ । यो प्रदूषणको कीमत पनि क्यानडामाथि अहिले लगाइँदै गरेको ट्यारिफमा जोड्नुपर्नेछ,’ ट्रम्पले भनेका छन् । यो बयान क्यानडाका सयौं वनजंगलमा डढेलो लागिरहेको समयमा आएको हो । वनजंगलको धुँवा उत्तरी अमेरिकाको ठूलो हिस्सामा फैलिएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जलवायु परिवर्तनसँग लड्नु क्यानडा र अमेरिका दुवैको साझा जिम्मेवारी भएको कुरा पहिले नै बताएका छन् । ट्रम्पको बयानपछि क्यानडाका आपत्कालीन व्यवस्थापन मन्त्रीले दुवै देश प्राकृतिक विपत्तिसँग लड्न लगातार सम्पर्कमा रहने स्पष्ट पारे । उनले दुई देशबीच सहकार्यको लामो इतिहास रहेको स्मरण गर्र्दै सन् १९८२ को अग्निनियन्त्रण सम्झौता र सन् २०२५ को जी–७ समिटका क्रममा भएको विपद् सहयोग सम्झौताको पनि चर्चा गरेका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्