साउन,३-
नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेसले स्मृति दिवसका अवसरमा लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्दै ६ साउनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा आज भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने घोषणा गरेको छ । ‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ नारासहित आयोजना हुने पाँच किलोमिटर लामो दौड ललितपुरको युएन पार्कबाट प्रारम्भ हुनेछ । दौडपछि बिहान ७ बजे जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौतीः निराकरण कसरी’ शीर्षकमा विषयविज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने जनाइएको छ ।



