राष्ट्रपति पौडेल – सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा गरेको राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः राष्ट्रपतिको कार्यालय÷रासस

राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेको बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने बताए । उनले भने, ‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ । म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु ।’ राष्ट्रपति पौडेलले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सार्वभौमसत्ताका लागि गरेको बलिदान र पुर्‍याएको योगदान स्तुत्य भएको बताए ।

उनले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था तथा प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिन नहुने स्पष्ट पारे । उनले भने, ‘यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गर्दै अघि बढ्नुपर्दछ । हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ । यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ ।’ राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाएका भीमसेन थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उनको मूलमन्त्र भएको बताए ।  थापा एक इमानदार र कुशल प्रशासक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी, सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा गर्नुभएका सुधारका कार्य प्रशंसनीय रहेको बताए ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्