वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित ‘४४ औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले ती पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरियो। उक्त पुरस्कारको राशि १ लाख रूपैयाँ रहेको छ। यसै गरी गीत रचनातर्फ वरिष्ठ गीतकार डा. नवराज लम्साल, सङ्गीत सिर्जनातर्फ सङ्गीतकार किरण कँडेल र गायनतर्फ गायिका विमला राईलाई जनही १ लाख रूपैयाँ राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरियो। गायिका सारिका घिमिरेलाई भने ५० हजार रूपैयाँ राशिको ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्रदान गरियो। पुरस्कृत व्यक्तित्व डा. लम्सालले गीत सभ्यता र गीतकार त्यही सभ्यताको बीज भएको उल्लेख गर्दै सुप्त अवस्थामा रहेका आफ्ना गीतलाई सङ्गीत र स्वरले ब्युँझाइदिएर अहिलेको अवस्थामा पुर्याइदिने सङ्गीतकार तथा गायक/गायिकाप्रति आभार प्रकट गरेका छन्। गुठीका सचिव एवं साहित्यकार दिनेश अधिकारीले नेपाली गीतसङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने गीतकार, सङ्गीतकार र गायक/गायिकालाई २०३९ सालदेखि गुठीले सम्मान गर्दै आइरहेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्