साउन,४-

नेपाली कांग्रेसका सांसद पदम परियारले समितिले हेटौंडा कपडा उद्योगको स्थलगत अनुगमन नगरेकोप्रति आपत्ति जनाएका छन् । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । समितिले मधेश तथा बागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योग, कारखाना तथा राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुमन गरेको थियो । उक्त अनुगमनबारेको छलफलका क्रममा भाग लिँदै उनले सरकारले उक्त उद्योग सञ्चालनको लागि बजेट समेत विनियोजन गरिसकेको अवस्थामा उद्योगको अनुगमनगरी सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा समितिले त्यस्तो नगरेको भन्दै आपत्ति जनाए ।

‘अहिले सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्छौं भनेर त्यतिधेरै महत्व दिइरहँदा समितिले त्यो उद्योगको अनुगमन गर्न सकेन,’ उनले भने, ‘कृषि औजार कारखानाभन्दा त हेटौंडा कपडा कारखाना सरकारले नेपाली सेनालाई जिम्मा लगाएर सञ्चालनमा ल्याउँछु भनेको छ भने संसदको समिति त्यहाँ गएर त्यसको अनुगमन गर्नु उपयुक्त हुन्थ्यो होला नि त । यो विषयमा समितिले अगामी दिनमा विचार गरोस् भन्ने कुरा राख्न चाहन्छु ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरुले बागमती र मधेश प्रदेशमा सञ्चालित कार्यक्रम तथा उद्योगहरुको अवस्थाबारे थप छलफल गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्