वित्तीय शोषणविरुद्ध आन्दोलनरत लघुवित्तपीडितहरू राति बासको व्यवस्था नहुँदा सडकमै बस्न बाध्य भएका छन् । दिनभर प्रदर्शन गरेका पीडितहरूलाई प्रहरीले पशुपतिस्थित गौशाला धर्मशालामा पुर्याए पनि धर्मशालाले कोठा अभाव देखाउँदै बस्न नदिएको अभियन्ता लक्ष्मी घिमिरेले बताइन् ।
त्यसपछि उनीहरू पुनः माइतीघरतर्फ फर्किएका थिए । आन्दोलनकारीहरूले प्रहरीले झुक्याएर गौशाला पुर्याएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सरकारसँग पटक–पटक वार्ता भए पनि तथा सहमतिका आश्वासन दिइए पनि आफ्ना माग सम्बोधन नभएको उनीहरूको भनाइ छ ।
किसान–मजदुर आन्दोलन नेपालको आयोजनामा देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडितहरूले आइतबार बल्खुदेखि माइतीघरसम्म प्रदर्शन गरेका थिए ।
लघुवित्त संस्थाहरूको चर्को ब्याज, ऋण असुलीका क्रममा हुने मानसिक दबाब तथा आर्थिक शोषण अन्त्य गर्न माग गर्दै उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।




