मकवानपुर । देशभरका पछिल्ला घटनापछि जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आज शनिबार अपरान्ह ४ बजे हेटौंडामा बृहत् सामाजिक सद्भाव र्याली आयोजना हुने भएको छ ।
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली आयोजना गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हिजो शुक्रबार बसेको सर्वपक्षीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र्याली गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला प्रशासनको समन्वयमा विभिन्न राजनीतिक दल, उद्योगी व्यवसायी, गैरसरकारी संस्थालगायतको सहभागितामा आज सद्भाव र्याली निकाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताएका छन् ।
हिजोको बैठकले सामाजिक सद्भाव भडकाउने, गैह्र कानूनी क्रियाकलाप गर्ने वा उच्छृङ्खल गतिविधि गरेको जानकारी भएमा तत्काल सुरक्षा निकायमा खबर गर्न समेत आग्रह गरेको छ । र्याली हेटौंडा–४ स्थित हुप्राचौरबाट सुरु हुने जनाइएको छ ।




