काठमाडौं । दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट सेलको उपकरण लिलामी प्रकरणको अनुसन्धानमा उनलाई पक्राउ गरेको हो। उनको कार्यकालमा सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको उपकरण चार अर्ब ६० करोड रुपैयाँँमा लिलाम गरिएको थियो। सिआइबीका प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार स्मार्ट सेलको उपकरण लिलामीको अनुसन्धानको क्रममा भण्डारीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताएका छन् ।
नेपाल प्रहरीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दाङ ठेगाना भएका हाल ललितपुर महानगरपालिका–२३ बस्दै आएका ५२ वर्षीय भण्डारीलाई हिजो साउन १४ गते पक्राउ गरिएको हो। पक्राउ परेका भण्डारी २०८० फागुन ६ गते नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए। यसै प्रकरणमा व्यवसायी उपेन्द्र महतोलाई पनि हिजो बिहीबार सीआईबीले सोधपुछ गरेको थियो ।




