बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिँदै छन्। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले आफ्नो सरकारको निरन्तरताका लागि विश्वासको मत लिन लागेका हुन्। तर, प्रदेशसभामा आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि बानियाँको सरकार जोगिने सम्भावना कमजोर बनेको छ। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुवैको समर्थन प्राप्त नभएसम्म सरकार टिकाउन आवश्यक मत उनको पक्षमा पुग्ने अवस्था छैन।
यसैबीच, नयाँ सरकार गठनको तयारीमा रहेको एमालेभित्र भने मुख्यमन्त्रीको उम्मेदवार चयनमै विवाद देखिएको छ। एमालेले संसदीय दलका नेता जगन्नाथ थपलियालाई निरन्तरता दिने कि किरण थापालाई नयाँ नेता बनाएर मुख्यमन्त्रीका रूपमा अघि सार्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। एमाले सचिव महेश बस्नेतको समर्थनमा किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने प्रयास भइरहेको बताइएको छ। एमाले र नेकपाबीच सत्ता सहकार्यका क्रममा बागमतीको मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति बनेपछि थापाको नाम चर्चामा आएको हो।
एमालेका २६ प्रदेशसभा सदस्यमध्ये १६ जनाले थापालाई संसदीय दलको नेता बनाउन समर्थन गर्दै हस्ताक्षर गरेको दाबी गरिएको छ। त्यसपछि थपलिया र थापाबीच संसदीय दलको नेतृत्वलाई लिएर विवाद थप चर्किएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि थपलियालाई संसदीय दलको नेताबाट हटाउन दबाब दिएको स्रोतको दाबी छ। केही साताअघि ओलीले बागमतीका सांसदहरूलाई आफ्नै निवासमा बोलाएर थपलियाको पक्षमा नउभिन आग्रह गरेको बताइएको छ।
यस क्रममा थपलियामाथि पद छाड्न दबाब दिइएको र ओली निवासमै उनी अस्वस्थ भएर ढलेको स्रोतको दाबी छ। उपचारपछि केही दिनअघि मात्रै थपलिया घर फर्किएको बताइएको छ। एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार र संसदीय दलको नेताबारे सहमति बन्न नसक्दा बागमतीको सत्ता समीकरण थप पेचिलो बनेको छ। यही राजनीतिक अन्योलका बीच मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन्।
Share This:



