रोल्पा । अविरल वर्षासँगै गएको पहिरोमा परी रोल्पामा थप एक जनाको मृत्यु भएको छ। लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको ज्यान गएको हो।

घरमा सुतिरहेका बेला माथिबाट पहिरो खसेर गुरुङ पुरिएकी थिइन्। घटनापछि प्रहरी टोली स्थानीयको सहयोगमा खोजीमा जुटेको थियो। आइतबार बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यो घटनासँगै पछिल्लो पाँच दिनमा रोल्पामा पहिरोका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। थवाङ गाउँपालिका–५ कोटलबारामा गत बुधबार राति पहिरोले घरहरू बगाउँदा १२ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन्। घटनामा घाइते भएका दुई जनाको बुटवलमा उपचार भइरहेको छ।

त्यसैगरी, गत बिहीबार राति सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठे क्षेत्रमा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको थियो। लगातार भइरहेको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरो तथा बाढीको जोखिम बढेको छ। जिल्लाका धेरै बस्ती जोखिममा रहेकाले स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित विपद्को जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि प्रशासनले अनुरोध गरेको छ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्