काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिट्ठा (लकी ड्र) नतिजा सार्वजनिक गरेको छ । आज शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा करदातामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ । नतिजाअनुसार किराना पसलबाट २५० रुपैयाँको सामान खरिद गर्ने कुपन नम्बर ००७३१५२५४४९३ का उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् । उक्त रकमबाट २५ प्रतिशत कर कट्टा गरी सात लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने विभागले जनाएको छ ।
त्यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कर कट्टापछि उनीहरूले एक लाख रुपैयाँ पाउनेछन् । विभागका अनुसार दुई करोड ५६ लाखभन्दा बढी विद्युतीय तथा सात हजारभन्दा बढी नगद कारोबारमध्येबाट विजेताको छनोट गरिएको हो । छनोट प्रक्रियामा ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म ¥यान्डम स्याम्पलिङ विदआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको विभागले जनाएको छ ।
सरकारले उपभोक्तामा बिल माग्ने र व्यवसायीलाई अनिवार्य रूपमा बिल जारी गर्न प्रोत्साहन गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत यो कार्यक्रम सञ्चालन गरेको हो । सरकारले विद्युतीय भुक्तानीमार्फत गरिएको कारोबार भने स्वतः कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ । यस्ता कार्यक्रमले उपभोक्तामा सामान वस्तु खरीदपछि बिल लिन प्रोत्साहित हुने विश्वास लिईएको छ ।
Share This:



