काठमाडौँ ।स्वास्थ्य उपचारपछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरूको टोली विमानस्थल पुगेर देउवाको स्वागत गर्ने तयारी गरिएको बताइएको छ। नेता मीन विश्वकर्माका अनुसार स्वागत कार्यक्रममा डा. शेखर कोइराला, पूर्णबहादुर खड्कालगायत पूर्वपदाधिकारी, केन्द्रीय सदस्य तथा अन्य नेताहरूको सहभागिता रहनेछ। देउवा थाइल्यान्डबाट थाई एयरको उडानमार्फत बिहीबार मध्यान्ह काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

स्वास्थ्य उपचारका लागि केही महिनादेखि विदेशमा रहेका देउवा सिंगापुर, हङकङ हुँदै थाइल्यान्ड पुगेका थिए। उपचार प्रक्रिया पूरा गरेपछि उनी स्वदेश फर्किन लागेका हुन्। पार्टी नेताहरूका अनुसार नेपाल फर्किएपछि देउवा पुनः कांग्रेसका आन्तरिक गतिविधिमा सक्रिय हुनेछन्। साथै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच आयोजना हुन लागेको उक्त भेलालाई महत्त्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ। देउवाको उपस्थितिले भेलालाई थप अर्थपूर्ण बनाउने अपेक्षा नेताहरूले गरेका छन्।

Share This:
1Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्