काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनाको विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन्। जेन–जी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए। उनी आज थाई एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ।
देउवाको स्वागतमा सहभागी हुन कार्यकर्ताहरूलाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट, नमस्ते गेट र तिलगंगा आँखा अस्पताल अगाडिको खाली स्थानमा भेला हुन आग्रह गरिएको छ। देउवाको स्वागतका लागि कांग्रेसको संस्थापनइतर समूहले विमानस्थलमा ठूलो संख्यामा नेता–कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। स्वागत कार्यक्रममा डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू सहभागी हुनेछन् भने पूर्णबहादुर खड्का, डा. शेखर कोइरालालगायत पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू पनि उपस्थित रहने जनाइएको छ।सुदूरपश्चिमसहित विभिन्न जिल्लाबाट कार्यकर्ताहरू काठमाडौं आइसकेका छन्। देउवाले विमानस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने कार्यक्रम रहेको छ। त्यसपछि उनलाई बाजागाजासहित स्कर्टिङ गरेर लैजाने तयारी गरिएको छ। स्वागतका लागि काठमाडौं उपत्यकाका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्वीरसहित उपस्थित हुन आह्वान गरिएको छ।
स्वदेश फर्किएलगत्तै देउवाले शुक्रबारदेखि सुरु हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ठूलो संख्यामा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रशासनले जनाएको छ।




