काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले मौसममा बदली र वर्षाको क्रम जारी रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान अनुसार मंगलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश र केही तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा जारी रहेको छ।
आज रातिसमेत देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।




