काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यसचिव गोविन्दबहादुर कार्कीले नियुक्ति निर्णय भएको जानकारी दिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि आवेदन आह्वान गरेको थियो। प्रतिस्पर्धाबाट उत्कृष्ट तीन उम्मेदवार छनोट हुँदा साहसँगै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए।नेपाल आयल निगममा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका साह यसअघि निगमका निमित्त कार्यकारी निर्देशकसमेत रहिसकेका छन्। निगमको कार्यसम्पादन, व्यवस्थापन तथा इन्धन आपूर्ति प्रणालीबारेको अनुभवका आधारमा उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको बताइएको छ।

नवनियुक्त कार्यकारी निर्देशक साहसमक्ष निगमको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने चुनौती रहेको छ। पछिल्लो समय एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या र उपभोक्ताले भोग्दै आएको सास्ती अन्त्य गर्नु उनका प्रमुख प्राथमिकतामध्ये एक हुने अपेक्षा गरिएको छ। साथै इन्धन आपूर्तिलाई सहज, भरपर्दो र व्यवस्थित बनाउँदै निगमप्रतिको जनविश्वास बढाउने जिम्मेवारी पनि उनको काँधमा आएको छ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्