प्युठान/ प्युठानको स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा क्षेत्रमा माडी खोला किनारका विभिन्न स्थानबाट पाँच जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार बिहान शवहरू फेला परेका हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार शवहरू रोल्पामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिहरूको हुनसक्ने आशंका गरिएको छ। डीएसपी अधिकारीले माडी खोला रोल्पा क्षेत्रबाट बगेर आउने भएकाले त्यहाँको पहिरोमा बगेका व्यक्तिहरूको शव यहाँ आइपुगेको हुनसक्ने बताए। यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। यसअघि गएराति रोल्पाको थवाङ क्षेत्रमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको थियो भने नौ जना अझै बेपत्ता रहेको जनाइएको छ। फेला परेका शवहरूको पहिचान तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Share This:



