मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने सन्दर्भमा मुख्यमन्त्री कार्यालयले प्रदेशसभालाई पत्राचार गरिसकेको जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने कार्यसूची तय गरिएको छ ।
एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ । १ सय ४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशमा सरकार गठन वा जोगाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ ।
Share This:




