काठमाडौं /भारतीय स्थल सेनाका प्रधान सेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदैछन्। नेपाली सेनाका अनुसार उनी आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। चारदिने भ्रमणका क्रममा सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही अवसरमा राष्ट्रपति पौडेलबाट उनले नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्।
नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सेठ गत जुन ३० मा भारतीय सेनाको ३१औँ प्रधान सेनापतिका रूपमा नियुक्त भएका थिए।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको नेपाली सेनाले जनाएको छ। भेटका लागि पत्राचार गरिए पनि प्रधानमन्त्रीको सचिवालयबाट औपचारिक जवाफ प्राप्त भइनसकेको बताइएको छ। सेठ बुधबार भारत फर्किने कार्यक्रम रहेको छ।
Share This:



