हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फीरोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब २ बजे च्याउ टिप्न वन क्षेत्रमा पुगेका स्थानीयले सेतो बोरामा बाँधिएको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा डग र soco सहितको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोरा खोलेर हेर्दा करिब ३० देखि ३२ वर्ष उमेरकी महिलाको शव फेला परेको हो । मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । महिलाको पहिचान, मृत्युको कारण तथा शव उक्त स्थानमा कसरी र किन ल्याइयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्