यस साताको फ्राइडे रिलिजअन्तर्गत दुई नयाँ नेपाली चलचित्र आजदेखि देशभरका हलमा प्रदर्शनमा आएका छन्। प्रदर्शनमा आएका चलचित्र हुन्– ‘कमला मिस’‘हली’

निर्देशक निर शाहको ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृतिबाट प्रेरित कथामा आधारित रहेको बताइएको छ। चलचित्रमा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) तथा सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ। यो चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण गरिएको हो।

त्यसैगरी, निर्देशक ओम प्रतिकको ‘हली’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो। यसले छाउपडी प्रथाले महिलाको जीवनमा पार्ने प्रभाव, भोग्नुपर्ने कठिनाइ तथा समाजमा विद्यमान विभेदलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ। ‘हली’मा प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक (गुरुङ), सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ र विद्या कार्कीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पूजा गुरुङ र जश्मीन श्रेष्ठ हुन्।

सामाजिक सन्देश बोकेका यी दुवै चलचित्रले नेपाली समाजका विविध यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेका छन्। दर्शकको प्रतिक्रिया र व्यापारिक प्रदर्शन कस्तो रहनेछ भन्ने चासोका साथ आजदेखि प्रदर्शन यात्रा सुरु भएको छ।

Share This:
1Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्