चितवन/ मानव बस्ती आसपास बाघ तथा चितुवाको आवतजावत बढ्न थालेपछि डिभिजन वन कार्यालय चितवनले ती वन्यजन्तुको निगरानी र नियन्त्रणका लागि विभिन्न स्थानमा क्यामरा जडान तथा खोर राख्ने काम अघि बढाएको छ। वन कार्यालयका अनुसार वन्यजन्तुको गतिविधि पहिचान गर्न भरतपुर महानगरपालिका–१५ अन्तर्गत अविनास पोल्ट्री क्षेत्र आसपास क्यामरा जडान गरिएको छ। सोही क्षेत्रमा आवश्यक पर्दा नियन्त्रणमा लिन सकिने गरी खोरको समेत व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले बताए। यससँगै नजिकैको बाँसझ्याङ क्षेत्रमा पनि थप क्यामरा राखेर अनुगमन थालिएको छ।

हालै पोल्ट्री परिसरमा राखिएको खोरमा चितुवाको एउटा बच्चा फसेपछि त्यसको उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पठाइएको छ। खोर नजिक जडान गरिएको क्यामरामा चितुवाको माउ र अर्को बच्चा बाहिर बसेको दृश्य देखिएको थियो। वन कार्यालयका अनुसार त्यस क्षेत्रको झाडी सफा गरिएपछि माउ चितुवा र अर्को बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालय आसपासको क्षेत्रमा सरेको हुन सक्ने अनुमान गरिएको छ।

वन्यजन्तुको सम्भावित उपस्थितिलाई ध्यानमा राख्दै विश्वविद्यालय परिसरमा समेत क्यामरा र खोर राखेर नियमित निगरानी भइरहेको जनाइएको छ। यता भरतपुर महानगरपालिका–११ को आँपटारीस्थित विद्युत् स्टेशन क्षेत्रमा केही दिनअघि बाघ देखिएको सूचना प्राप्त भएपछि वन कार्यालयले त्यहाँ पनि क्यामरा जडान गरेको छ। स्थानीयको बाख्रा मारेको घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सुरक्षा निकाय र वनकर्मीको टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपछि कार्यालय परिसरभित्र र प्रवेशद्वार आसपास निगरानी उपकरण जडान गरिएको हो। डिभिजन वन कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार हाल तीनवटा संवेदनशील क्षेत्रमा क्यामरा र खोरको व्यवस्था गरिएको छ। बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार तथा व्यवस्थापन गर्ने तयारी गरिएको उनले बताए।

वन्यजन्तु विज्ञहरूका अनुसार बच्चा हुर्काउने समयमा वा शारीरिक रूपमा कमजोर भएका बाघ तथा चितुवा कहिलेकाहीँ जङ्गल बाहिर निस्कने गर्छन्। जङ्गलभित्र अन्य जनावरबाट बच्चा असुरक्षित हुने सम्भावना तथा सहज सिकारको खोजीका कारण उनीहरू मानव बस्ती नजिक पुग्ने गरेको अनुमान गरिएको छ। यस क्रममा घरपालुवा जनावरमाथि आक्रमण हुने घटना पनि देखिने गरेका छन्।

Share This:
2Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्