सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्मका लागि खुकुलो बनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै उक्त निर्णय गरिएको हो। प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्युलाई थप खुकुलो बनाउने वा पुनः लागू गर्ने विषयमा आवश्यक निर्णय गरिने जनाएको छ।
कर्फ्यु खुकुलो भएको अवधिमा गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिनेछ। तर, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन प्रशासनले सबैसँग आग्रह गरेको छ।
सुनसरीमा भएको घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु आदेश लागू गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको जनाएको छ।
Share This:



